काठमाडौं, माघ २० । नेपालको सिनियर राष्ट्रिय महिला भलिबल टिमले एसियन च्याम्पियनसिप खेल्ने पक्का भएको छ। एसियन भलिबल महासंघ (एभीसी) को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको हो।
नेपाल भलिबल संघले चीनमा आयोजना हुने प्रतियोगितामा नेपालबाट दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो। चाईना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुँदैछ।
प्रतियोगितामा आयोजना चीन सहित १६ टिमले सहभागीता जनाउनेछन्। सेन्ट्रल जोन मध्य इस्ट जोन र वेस्ट जोनबाट कुनैपनि देशले दाबी प्रस्तुत नगरेपछि उज्वेकिस्तान, श्रीलंका र नेपाल खेल्ने गरि बैठकले निर्णय गरेको हो।
बाँकी १० राष्ट्रमध्य सेन्ट्रल जोनबाट नियमित प्रतियोगिता खेलिरहेका ईरान, ताजकिस्तान र भारत वरियताका आधारमा सिधै छनोट भएका छन्। कोभिड–१९ को अवस्था हेरेर एभीसीले प्रतियोगिता हुनु दुई महिना अघि खेल हुने÷नहुने विषयमा पक्का गर्ने बताएको छ।
कोभिडकै कारणले गत फागुनमा विच भलिबल समेत स्थगित बनेको थियो। गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको महिला टिमले ऐतिहासिक रजत पदक जितेको थियो। फाईनलमा भारतसंग ३–२ को सेटमा पराजित बनेको नेपालले एतिहासिक रजत पदक भने प्राप्त गरेको थियो।
साग अघि बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालको महिला टिमले स्वर्ण पदक जितेको थियो। भलिबलको ईतिहासमा सेन्ट्रल जोनमा नेपालले एतिहासिक स्वर्ण पदक हात पारेको थियो। महिला टिमको पछिल्लो प्रर्दशनलाई आधार मानेर नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपमा नेपालबाट दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो।


























