काठमाडौं, माघ १८ । संवैधानिक परिषद्ले विभिन्न आयोगमा नियुक्तिका लागि पठाएको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन्। संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको परिषद्को पत्र सभामुखले आइतबार फिर्ता पठाएका हुन्। परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा नियुक्तिका लागि नाम संसदीय सुनुवाइको निम्ति संसद्मा पठाएको थियो।
सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि बैठक बस्न सक्नेगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। पुस ३ गते संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस गरेको थियो। पुस ३ को संवैधानिक परिषद् बैठकमा सदस्यद्वय प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा भने उपस्थित थिएनन्।


























