काठमाडौं, माघ १६ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आज बाँडफाँड हुँदैछ। बैंकको आईपीओ आज बिहान १० बजे बाँडफाँड गर्ने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ।
बैंकले आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर बिक्री खुला गरेको थियो। जसमध्ये ०।२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्ट्याइएको छ।
बाँकी सात करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। कम्पनीको आईपीओमा १५ लाख ५० हजार ३२५ वटा आवेदनबाट १८ अर्ब रुपैयाँभन्दा माथिको आवेदन परेको छ।
जसमध्ये ६ हजार २७६ आवेदन रद्द भएका छन्। बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ प्रि(अलोटमेन्ट गरेर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ। बोर्डबाट स्वीकृत भएपछि आज बिहान १० बजे क्यापिटलले केन्द्रीय कार्यालय लैनचौरमा आईपीओ बाँडफाँड हुन लागेको हो।


























