– बिष्णुमाया अधिकारी
लगनशील भई पढाई गरी बन्यौं नर्स राम्रो
इमानदारीलाई सधैं ठान्दै कर्तव्य हो हाम्रो
५९औं राष्ट्रिय नर्सिङ दिवस मनाऔं सबै मिली
गुणस्तरीय नर्सिङ सेवा दिलाउने सबले प्रण गरी
सिनियरलाई सम्मान गर्ने जुनियरलाई माया
नपारेर पेशामा कुनै राजनीतिको छायाँ
सादा जीवन, खोजमुलक ज्ञान राख्ने बानी
सेवा गर्ने बिरामीलाई आफन्त झैं ठानी
सेतो कोटमा नम्र बोली सेवारत परिचालिका नाम
प्रतिकात्मक, उपचारात्मक, प्रवर्द्धनात्मक हाम्रो काम
२४ घन्टा सेवामा तल्लीन, धर्तीका हुन् परी
घर अफिस भ्याउनुपर्छ, हामीलाई सधै भरी
अस्पतालमा धेरै काम नर्सको नै हुन्छ
उचित पारिश्रमिक नपाउँदा पो मन सारै रुन्छ
उत्पादन त धेरै भयो गुणस्तरमा न्यून
गुणस्तरीय सेवा गरी स्याबासी नि लिउँ न
एकजुट बनौं हामी सबै संगठनमा लागि
पेशागत हक अधिकार खोज्नुपर्छ भनी
अध्ययन अनि तालिम लिई क्षमतालाई बढाऔं
पेशागत हकहितको लागि केन्द्रबाट प्रशिक्षण गराऔं
उठाऔं माथि आफ्नो पेशा एकजुट होऔं पहिले
दबाबमा बस्ने बेला पक्कै छैन अहिले
सामन्यबाट शुरु भई पेशा उच्च विशिष्टतामा पुग्यो
पेशागत शान जोगाउन हामी लाग्नुपर्यो
मूल्य अनि मान्यतालाई नभुलौं है पहिले
अनैतिक क्रियाकलाप गर्नुहुन्न कहिले
अरु देशमा नर्सहरूले राम्रै विकास गरे
हाम्रो देशका नर्स कठै भोलिन्टियरमा झरे
अरु देशमा नर्सहरुले राम्रै विकास गरे
हाम्रो देशका नर्स कठै भोलिन्टियरमा झरे
अब हामी सबै नर्सको हातेमालो खाँचो
स्वीकार गरौं यही कुरालाई ठानेर साँचो
हस्त हजुर सबैलाई नमस्कार,
समाजमा नर्सलाई नगरौं तिरस्कार
(वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवन)


























