चितवन माघ १५ । नेपाल नर्सिङ संघ चितवन शाखाले बिहीबार ‘गुणस्तरीय नर्सिङ सेवा हाम्रो शान, श्रम र सेवाको गरौं सम्मान’ भन्ने नाराका साथमा ५९ औं नर्सिङ् दिवस मनाएको छ। कोभिड-१९ सम्बन्धि जनचेतनामूलक प्ले कार्ड प्रदर्शन गर्नुका साथै सर्वसाधारणलाई माक्स वितरण गरेर दिवस मनाइएको हो। कार्यक्रममा सर्वसाधारणलाई करिब एक हजार थान माक्स वितरण गरिएको संघका सचिव विष्णुमाया अधिकारीले जानकारी दिइन्। संघका अध्यक्ष मथुरा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता मीना खरेल, संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश सुब्बा, मानव अधिकारकर्मी कुलचन्द्र खनाललगायतको उपस्थिति थियो। साथै विभिन्न नर्सिङ कलेज, अस्पताल तथा नर्सिङ होममा कार्यरत एकसयभन्दा बढी नर्सहरुकाे उपस्थिति थियो।
संघका पूर्वअध्यक्ष तथा सल्लाहकार संयोजक दुर्गा न्यौपानेले संघप्रति नर्सहरुकाे आवद्धता बढाउनुपर्ने बताइन्। आफ्नाे हकअधिकारकाे सुनिश्चितताकाे लागि पनि सबै नर्सहरु संगठित हुनुपर्ने बेला आएकाे उनकाे भनाइ थियो। संघका निवर्तमान अध्यक्ष माया पाण्डेले नर्सहरू अझै पनि पिछडिएकाले सबै नर्सहरुलाई एकतावद्ध ढंगले अगाडि बढाउनुपर्ने बताइन्। मानव अधिकारकर्मी कुलचन्द्र खनालले ऐन र विनियममा उल्लेख भएअनुरुपको सेवाबाट जो कोही पनि वञ्चित हुन नहुने बताए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी मीना खरेलले आफू पनि महिला तथा बालबालिकाको हक अधिकारको लागि काम गर्दै आएको नाताले नर्सहरूको कामको उच्च मूल्याङ्कन र सम्मान हुनुपर्ने बताइन्। अर्को वर्षको नर्सिङ दिवसमा समस्याभन्दा पनि सन्तोष र खुसीका साथ मनाउन पाइयोस् भन्ने कामना गरिन्।

























