चितवन, माघ १३ । शक्तिशाली आमा समूह र रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको अर्गानिक अचार बनाउने तालिम समापन भएको छ। तालिममा सहभागी महिलाहरुले आमा समूह र तालिम लिएका दिदीबहिनीहरुको संयुक्त लगानीमा अचार उत्पादनको काम सुरु गर्ने आमा समूहकी अध्यक्ष विरञ्जना घिमिरेले जानकारी दिइन्। रोट्याक्ट क्लब अफ रत्ननगर, रोट्याक्ट क्लब अफ र इन्ट्याक्ट क्लब अफ पूर्वी चितवनको सहयोगमा आयोजना गरिएको २० दिने तालिम मंगलबार समापन गरिएको छ।
तालिममा सहभागी १७ जना महिलाहरुले विभिन्न स्वादका अचार बनाउन सिकेका छन्। तालिमको प्रशिक्षकमा मुना श्रेष्ठ रहेकी थिइन्। रोटरी क्लब अफ रत्ननगरले व्यावसायिक रुपमै अचार उत्पादनको तयारी गरेका महिलाहरुलाई अचार उत्पादनको लागि चाहिने मेसिन सहयोग गरेको छ। तालिम समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले महिलाहरुले उत्पादन गरेको बस्तुको बजारीकरण र भण्डारणको लागि बिक्री केन्द्र सञ्चालनको तयारी गरिएको बताए।
कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु राजेन्द्रकुमार श्रेष्ठ, दीपककुमार कर्माचार्य, महासचिव निराजन खनाल, रोटरीका असिस्टेन गर्भनर रमेश श्रेष्ठ, रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष शिवराज उप्रेती, निर्वतमान अध्यक्ष विपीन पोखरेल, सहभागीको तर्फबाट शान्ति श्रेष्ठलगायतले मन्तव्य राखेका थिए। आमा समूहकी अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम सदस्य शारदा न्यौपानेले सञ्चालन गरेकी थिइन्।

























