चितवन १३ माघ । कम्युनिस्ट पार्टीका मुख्य खम्बा खम्बासिंह कुँवरकाे पार्थिव शरीरमा नेकपाका वर्तमान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जली दिएका छन्। भरतपुर ६ केशरबागका स्थायी निवासी नेता कुँवरकाे शव अन्तिम श्रद्धाञ्जलीकाे लागि मंगलबार नेकपा भरतपुर महानगरकाे पार्टी कार्यालयमा राखिएकाे थियाे। साेही क्रममा प्रचण्डले आफ्नाे अभिभावक मान्दै आएका नेता कुँवरलाई पार्टीकाे झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन्। हाल नेकपाका केन्द्रीय सदस्य रहेका नेता कुँवरबाटै २०३३ सालमा पार्टी सदस्यता लिएका प्रचण्डले समग्र कम्युनिस्ट पार्टीले नै अभिभावक गुमाएकाे बताए।
‘काजी बा’ भनेर चिनिँदै आएका नेता कुँवरकाे पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न नेकपाका शीर्षनेता देव गुरुङ, बागमती प्रदेश सांसद कृष्ण खनाल, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायतका नेताहरु उपस्थित थिए। मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायतका रोगबाट पीडित वामपन्थी नेता कुँवरकाे उपचारकै क्रममा मंगलबार बिहान करिब पाैने नाै बजेकाे समयमा भरतपुर अस्पतालमा निधन भएको हो। उनी एकसातादेखि उपचाररत थिए।
पार्टीद्वारा शाेक वक्तव्य जारी
नेपाली कम्युनिस्ट आन्दाेलनका गुरु खम्बासिंह कुँवरकाे निधनले नेकपाभित्र ठूलाे क्षति पुगेकाे भन्दै नेकपा चितवनले दुःख व्यक्त गरेकाे छ। पार्टीका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’ र सचिव कृष्णभक्त पोखरेलले मंगलबार संयुक्तरुपमा शाेक वक्तव्य जारी गर्दै ‘काजीबा’प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। ‘वि.सं १९८२ साल वैशाख १० गते जन्मिनुभएका कमरेड काजी बा २०१५ सालदेखि लम्जुङको तत्कालीन बाँग्रे गाविसबाट बसाइँसराइ गरी चितवनमा रहँदै आउनुभएको थियो। चितवनको वामपन्थी राजनीतिका अगुवा, तत्कालीन नेकपा (चौम) का पोलिटव्युरो सदस्यलगायत कम्युनिस्ट आन्दोलनका विभिन्न चरणमा केन्द्रीय स्तरका विभिन्न जिम्मेवारी निर्वाह गरिसक्नुभएका कमरेड काजी बा अत्यन्त सरल जीवनशैलीका अलावा कुशल संगठक हुनुहुन्थ्यो,’ शोक वक्तव्यमा भनिएको छ, ‘२०११ सालदेखि उहाँले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहमा रहेर राजनीतिक जीवन सुरुवात गर्नुभएको थियो। कमरेड काजीबाको निधनले नेपालको वामपन्थी आन्दोलनमा ठूलो क्षति पुगेको छ।’


























