माघ ९ । नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यास लिग २०२०/२१ अन्तर्गत ४७ औं खेलमा पर्थ स्कोचर्ससँग २२ रनले पराजित भएको छ। जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो।
होबार्टका डार्सी सर्टले ३७ बलमा ५ चौका सहित सर्वाधिक ४३ रनको योगदान दिए। पिटर ह्यान्डस्कोम्ब ३०, विल ज्याक्स २१, टिम डेभिड २७, नाथन इल्स ९ र म्याथ्यु वेड ६ रनमा आउट भए। पर्थका झेय रिचर्ड्सनले ४ ओभर ३३ रन खर्चेर ४ विकेट लिए। जेसन बेहरनडोर्फ २, एन्ड्रुय टाई र लियाम लिभिङस्टोनले १–१ विकेट लिए।
त्यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ थालेको पर्थले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो। पर्थका जोश इंगलिसले ३५ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५८ रनको योगदान दिए। जेसन रोय २०, लियाम लिभिङस्टोन २६, एस्टन टर्नर १५ र झेय रिचर्ड्सनले २९ रनको योगदान दिए । होबार्टका सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। नाथन इल्सले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए।


























