काकरभिट्टा, माघ ८ । लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। मेचीनगर नगरपालिका–६ मेचीपुलबाट २० ग्राम अवैध लागूऔषध खैरो लिसाइलो पदार्थ ब्राउनसुगर सहित कमल गाउँपालिका–६ बस्ने २० वर्षीय नबराज भट्टराई बुधबार दिउँसो पक्राउ परेका हुन्।
भारतबाट नेपालतर्फ आउँदै गरेको उनलाई लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गुप्ताङ्गमा लुकाई छिपाइ ल्याउदै गरेको उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको बताएको छ।
त्यस्तै, इलाम नगरपालिका–९ सुकीलुम्बा बस्ने ५५ वर्षीया नरमाया खाती र उनकै छोरी ३० वर्षीया चन्द्रकला खातीलाई करिब ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खठिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।


























