काठमाडौं, माघ ७ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामाअन्तर्गत सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई १११ रनको सामान्य लक्ष्य दिएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३१ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ११० रन बनायो।
सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए। त्यस्तै, सन्जु धामीले ३५ रन बनाउँदा अरुण ऐरीले १३ रन जोडे। बलिङतर्फ पुलिसका लागि सागर ढकालले ४ विकेट लिए। १० ओभर बलिङ गरेका सागरले तीन मेडन ओभर फालेर १८ रन खर्चे। त्यस्तै दीपेन्द्रसिंह ऐरीले पनि ३ विकेट लिए। दीपेन्द्रले ६ ओभर १ बल बलिङ गरेर दुई मेडन ओभर फाल्दै १० रन खर्चे।
आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा छन्। पहिलो खेलमा पुलिस वाग्मती प्रदेशसँग पराजित भएको थियो। त्यस्तै सुदूरपश्चिम पनि वाग्मती प्रदेशसँग पराजित भएको थियो। दुवै टोली वाग्मतीसँग ठूलो अन्तरले पराजित भएका थिए।


























