चितवन, ५ माघ । भरतपुर महानगरपालिका वडा नं. २२ कमलपोखरीस्थित पटिहानीमा औद्योगिक कृषि उपज प्रदर्शनी कक्षको शिलान्यास गरिएको छ। सोमबार महानगरकी मेयर रेनु दाहालले उक्त कक्षको शिलान्यास गरेकी हुन्। महानगरपालिकाको पश्चिमी क्षेत्र कृषि र पर्यटकीय केन्द्रको रूपमा विकास भइरहेको भन्दै मेयर दाहालले पर्यटन र कृषिलाई एकीकृतरूपमा विकास गर्दै अगाडि बढिरहेको बताइन्। पर्यटकीय क्षेत्रको रुपमा विकास हँुदै गइरहेको पटिहानीमा औद्योगिक उपज प्रदर्शनी कक्ष निर्माणको लागि छनौट गरिएको हुँदा यसले उत्पादकत्व वृद्धि, रोजगारी सृजना, आर्थिक गतिविधिमा बढावा दिनुका साथै स्थानीय उत्पादनहरूलाई बजारीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताइन्। भरतपुर महानगरपालिका शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटनको समानुपातिक विकासमा योजनाबद्ध ढंगले दिगो र आत्मनिर्भर विकासको क्षेत्रमा कृयाशील रहेको बताउँदै यसबाट अत्याधिक लाभ लिन महानगरबासीलाई उनले आग्रह गरिन्।
जिल्ला समन्वय समिति चितवनका प्रमुख तथा जिल्ला औद्योगिक विकास समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले औद्योगिक विकासमार्फत उत्पादकत्व वृद्धि गर्दै समृद्धिको दिशा तय गर्न सकिने बताए। निर्माण हुन लागेको औद्योगिक उपज प्रदर्शनी कक्षले यस क्षेत्रको औद्योगिक पर्यटकीय गतिविधिहरूको विकास र बिस्तारमा सहयोग हुने उनले बताए।
प्रदेश वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले प्रदेश सरकारले औद्योगिक विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यक्रम संचालन गरिएको हुँदा निर्माणाधीन औद्यौगिक प्रदर्शनी केन्द्रले यस क्षेत्रको औद्योगिक तथा घरेलु उपजको बजारीकरण र उत्पादन वृद्धिमा ठूलो मद्दत पुग्ने बताए। भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतोका अनुसार वडा कार्यालय कार्यालय परिसरमा निर्माण हुन लागेको औद्योगिक प्रदर्शनी कक्ष एकवर्षभित्रै करिब ९१ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुनेछ।


























