हुम्ला, माघ ५ । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरेका छन्। कोरोनापछि उक्त उडान बन्द भएकामा हाल सहजरुपमा हवाई यातायात सञ्चालन हँुदा उक्त उडान शुरु गरिएको हो।
नेपालगञ्जबाट सिमकोटका लागि उडान भर्ने सबै एयरलाइन्सले सहुलियत उडान पुनः शुरु गरिएको कार्गो व्यवसायी विष्णु रावतले बताए। यहाँका न्यून आयस्रोत भएका व्यक्तिलाई लक्षित गरी एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरिएको उनले बताए।
नेपालगञ्जबाट सिमकोट उडानका लागि चार्टर भाडादर चर्को भएका बेला यसले हुम्लावासीलाई केही राहत पुगेको छ। नयाँ सहुलियत उडानको भाडादर सीता एयरलाइन्सले र तारा एयरलाइन्सले रु छ हजार तथा नेपाल एयरलाइन्सले रु पाँच हजार ९७५ तोकेको बताइएको छ। सबै एयरलाइन्सले हप्तामा एक/एक उडान भर्न शुरु गरेका छन्। रासस


























