काठमाडौं, माघ ४ । विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा आइतबार कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको हो।
आर्मीले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ३३ ओभर ३ बलमा अलआउट हुँदै १ सय १५ रन मात्र बनाउन सक्यो।कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३० रन बनाए। हेमन्त ओलीले १६ रन जोड्दा दिनेश अधिकारीले १२ रन जोडे। आर्मीका सुशन भारीले ४ विकेट लिए। शाहब आलमले ३ र रोहित पौडेलले २ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो। आर्मीका लागि अनिल मण्डलले ८९ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान विनोद भण्डारीले ४१ रन बनाए।
यस्तै राजेश पुलामीले १६, लोकेश बमले १३ र रोहित पौडेलले ११ रन बनाए। कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवन पुनले २/२ विकेट लिए। पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराएको थियो। जितसँगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ। समूह ‘ए’ मा रहेको आर्मी शीर्ष स्थानमा रहेको छ। कर्णालीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।


























