काठमाडौं, माघ ४ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बागमतीले सुखद सुरुवात गरेको हो।
पुलिसले दिएको १ सय १२ रनको सामान्य लक्ष्य बागमतीले ३४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो। बागमतीको जितमा पृथु बास्कोटाले अविजित रहदै ४८ रन बनाए। इशान पाण्डेले अविजित १७ रन बनाए। पारस खड्काले १७ रन जोड्दा आदील खानले १२ रन जोडे। आकाश थापा १ रनमा आउट भए। पुलिसका दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १र१ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो। पुलिसका लागि ओपनरद्वय सुनिल धमलाले २२ बलमा ३ चौकासहित १७ तथा कुशल भूर्तेलले ३९ बलमा २ चौकासहित १७ रन बनाए।
त्यस्तै अमित श्रेष्ठ ६ रनमा पेविलियन फर्किदा दीपेन्द्र सिंह ऐरीले ३९ बलमा २ चौकासहित २१ रनको योगदान गरे। आरिफ शेख २१, अनिल साह १, कप्तान मन्जित श्रेष्ठ ५, रसिद खान १, ललित राजवंशी १ रनमा आउट हुँदा सागर ढकाल १ रनमा अविजित रहे।
बागमतीका नन्दन यादवले ९ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए। तिलक भण्डारीले ७ ओभर ३ बलमा १ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए। रामनरेश गिरीले ६ ओभरमा ३० रन खर्चेर २ विकेट लिए।
जितसँगै समूह ‘बी’ को बागमतीले महत्वपूर्ण २ अंक जोडेको छ। उपाधि दाबेदार पुलिसले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।


























