काठमाडौं, माघ ३ । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार प्रदेश-१ लाई १ सय ३५ रनले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो।
एपीएफले दिएको २ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश-१ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ८ रन मात्र बनाउन सक्यो। प्रदेश-१ का मनिस थापाले १८ रन जोड्दा फिर्दोस अन्सारीले १७ रन जोडे। दिपेश कंडेलले १६ र दिपक पासवानले १३ रन बनाए।
यस्तै जोसाक खड्काले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। प्रदेश-१ लाई सस्तैमा समेट्न एपीएफका अविनास बोहराले १८ रन खर्चिएर ५ विकेट लिए। यस्तै वसन्त रेग्मीले २ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४३ रन बनाएको थियो। एपीएफका लागि आसिफ शेखले ५९ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै वसन्त रेग्मीले ४० रन जोड्दा सन्दीप जोराले ३० रन बनाए। कप्तान शरद भेषवाकरले २० तथा किशोर महतो र सुवास खकुरेलले समान १९/१९ रन जोडे। सुमित महर्जन १४ रनमा आउट भए। प्रदेश-१ का फिर्दोस अन्सारी, हेमन्त राई र दिपेश कंडेलले २/२ विकेट लिए।
जितसँगै समूह ‘ए’ मा रहेको एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ। यसै समूहको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरिसकेको छ। शुक्रबार आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराएको थियो।


























