काठमाडौं, पुस २८ । आज दिउँसोबाट तीन दिनसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलको अवस्था नरहे पनि आज दिउँसोदेखि बिहीबारसम्म मुलुकका विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान वुलेटिनअनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। योक्रम बिहीबारसम्म नै कायम रहने महाशाखाले जनाएको छ।
वर्षासँगै देशका विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने तथा तराईका जिल्लाहरूमा हुस्सु लागिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावले मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। यस्तै बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।
काठमाडौँ उपत्यकाको ताप्रकम आज केही वृद्धि भएको छ। सोमबार न्यूनतम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस रहेकोमा आज आज बिहानको मापनमा पाँच दशमलव पाँच डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।


























