पुस २३ । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स पराजित भएको छ। पर्थमा बिहीबार भएको खेलमा होबार्ट सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको हो।
सिड्नीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन मात्र बनाउन सक्यो। होबार्टका लागि कप्तान पिटर ह्यान्ड्सकम्पले सर्वाधिक ३० रन जोड्दा बेन म्याकडेरमोटले २२ रन बनाए।
यस्तै डाविड मालनले २०, डीअर्सी सर्टले १९ र कोलिन इन्ग्रामले १२ रन बनाए। सिड्नीका क्रिस ग्रीन, तानभिर संघा र नाथन म्याकएन्ड्रयुले २/२ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो। सिड्नीका लागि उस्मान ख्वाजाले ४९ रन बनाए। सिड्नीका एलेक्स रोसले अविजित ४४ रन जोड्दा बेन कटिङ ३१ रनमा अविजित रहे।
यस्तै एलेक्स हालेसले २१ रन बनाउदा अर्जुन नैरले १५ रन बनाए। होबार्टका डीअर्सी सर्टले ३ विकेट लिए। सिड्नीविरुद्ध सन्दीपले १ विकेट लिए । उनले ४ ओभरमा २३ रन खर्चिएर १ विकेट लिएका हुन्। सन्दीपले लगातार तेस्रो खेलमा विकेट लिएका हुन्। यस अघिका दुई खेलमा उनले ३ विकेट लिईसकेका छन्। जितसँगै सिड्नी २२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। होबार्ट ७ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।


























