काठमाडौं, पुस २२ । आज बुधबार काठमाडौंको मौसममा केही सुधार आएको छ। मौसममा सुधार आएसँगै आइतबारदेखि काठमाडौंमा बढेको वायु प्रदुषण केही घट्न थालेको मौसमविदले बताएका छन्।
मौसमविद बरुण पौडेलका अनुसार मंगलबार साँझदेखि हावाको गति केही बढेकाले प्रदूषण पनि कम हुँदै गएको छ। हावा चल्न थालेसँगै वायुमण्डलमा रहेका धुलोका कणहरु चलायमान भएकाले सोमबार र मंगलबारको तुलनामा प्रदूषण कम भएपनि जोखिम कायमै रहेको उनले बताए।
उनले भने, ‘जाडो महिनामा धेरै हावा नचल्ने र पानी पनि नपर्ने भएकाले प्रदूषण कायमै रहन्छ, पूर्ण रूपमा हट्दैन।’ काठमाडौं उपत्यकामा बिहान हुस्स–कुहिरो लागेपनि दिउँसो घाम लाग्ने उनले बताए। जाडोमा वायुको गति कम हुने र हावामा आद्रता बढि हुँदा धुलोका कणहरु वायुमण्डलको तल्लो तहमै रहँदा प्रदूषण बढि हुने उनको भनाइ छ।
सोमबार र मंगलबार काठमाण्डु उपत्यकामा वायु प्रदूषणकोे स्तर खतराको तह माथि पुगेको थियो। वायु प्रदूषण अत्यधिकरुपमा बढेको भन्दै विशेष सावधानी अपनाउन सरकारले आग्रह गरिसकेको छ।
वन तथा वातावरण मन्त्रालयको वातावरण विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति नै निकालेर विशेष सावधानी अपनाउन र अत्यावश्यक भनएसम्म घरबाहिर ननिस्कन अनुरोध समेत गरेका छन्। मन्त्रलायले प्रदुषण बढेका कारण स्वासप्रश्वास कठिनाई हुनेजस्ता समस्या आउने भन्दै घरबाहिर ननिस्कन, अत्यावश्यक नभई सवारी साधन नचलाउन समेत सबैमा अनुरोध गरेको छ।


























