पुस ९ । फिफा क्लब विश्वकपको खेल तालिका र खेल्ने स्थानको घोषणा गरिएको छ। सन् २०२० को क्लब विश्वकप कोरोना महामारीका कारण स्थगित बनेको थियो।
नयाँ तालिका अनुसार कतारमा सन् २०२१ को फेब्रुअरी १ देखि ११ सम्म क्लब विश्वकप आयोजना हुनेछ। प्रतियोगिताका लागि तीन रंगशाला तय गरिएको छ। जसमा अहमद बिन अली, खलिफा ईन्टरनेश्नल र एजुकेशन सिटी स्टेडियम रहेका छन्। अहमद विन अली रंगशाला भर्खरै मात्र उद्घाटन गरिएको थियो।
फिफाले आयोजना गर्ने विश्व क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा ६ महादेशका टिमलाई समावेश गरिनेछ। प्रतियोगिताको उद्घाटन खेल फेब्रुअरी १ मा अहमद बिन अली रंगशालामा हुनेछ। समापन खेल फेब्रुअरी ११ मा एजुकेशन सिटी स्टेडियममा हुनेछ।
प्रतियोगितामा युइएफए च्याम्पियन्स लिग विजेताको रुपमा बायर्न म्युनिख, काफको च्याम्पियन्स लिगको विजेता अल अहली, एएफसी च्याम्पियन्स लिग विजेता उल्सान हुन्डाई, कन्कफा च्याम्पियन्स लिग विजेताको रुपमा यूएएनएल, आयोजक कतार स्टार लिग विजेता अल दुहैल र ओएफसी महादेशबाट आकल्याण्ड सिटीले सहभागीता जनाउनेछन्। एजेन्सी


























