काठमाडौं, पुस ९ । सहिद स्मारक ‘सी’ डिभिजन लिग चैत १ गतेबाट सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सी डिभिजन लिगका पदाधिकारीसंग छलफल गर्दै चैतको सूरुवातमै स्थगित रहेको लिग सञ्चालन गर्ने सहमती बनाएको हो।
कोरोनाका कारण गत वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग स्थगित बनेको थियो। कोरोना संक्रमणको डरले लामो समय घरेलु फुटबल बन्द रह्यो। एन्फाले गत वर्ष स्थगित बनेका घरेलु फुटबलका प्रतियोगितालाई यस वर्ष सक्ने तयारी गरेको छ।
एन्फा सी डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउन समेत सहमत बनेको छ। सी डिभिजनका क्लबले अब तयारी खर्च वापत ९ लाख रुपैयाँ प्राप्त गर्नेछन्। एन्फा सी डिभिजन लिगको तयारी खर्च २ लाख बढाउन सहमत बनेको हो।
छलफलको दौरान एन्फाले क्लबका पदाधिकारीलाई फिफा र एएफसीको स्वास्थ्य प्रोटोकलका विषयमा समेत जानकारी गराएको थियो। छलफलमा एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, महासचिव ईन्द्रमान तुलाधर, लिग कमिटिका संयोजक बिज्ञानराज शर्मा र एन्फाका अधिकारीहरु उपस्थित थिए। एन्फाले बुधबार मात्र सहिद स्मारक सी डिभिजन लिग फागुन ११ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो।


























