मंसिर २८ । सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने महिला टी ट्वान्टी क्रिकेट विश्वकपको छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ।अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले महिला टी ट्वान्टी विश्वकपको लागि छनोट प्रक्रिया र तालिका सार्वजनिक गरेको हो।
सन् २०२३ को टी ट्वान्टी विश्वकप खेल्न नेपालले दुई छनोट पार गर्नु पर्नेछ। छनोट अन्तर्गत क्षेत्रीय छनोटबाट शीर्ष टोली र ५ क्षेत्र मध्य उत्कृष्ट दोस्रो राष्ट्र ग्लोबल छनोटमा जाने छन्। ती ६ राष्ट्रले सन् २०१९ को विश्वकप खेलेका राष्ट्रको आईसीसी वरियताको पुछारमा रहेको दुई टोलीसंग खेल्ने छन्। सन् २०२२ मा हुने छनोटमा शीर्ष दुई टिमले आईसीसी महिमा टी ट्वान्टी विश्वकपका लागि छनोट हुने छन्। नेपालले छनोट अन्तर्गत समुह एकमा आगामी सेप्टेम्बरमा खेल्ने तालिका रहेको छ।
मलेसियामा हुने समूह एकमा ८ राष्ट्र सहभागी हुने छन्। एसियाको छनोट समूहमा नेपालसंगै भुटान, मलेसिया, चीन, हङकङ, कुवेत, म्यानमार र युएई रहेका छन्। यी मध्य शीर्ष स्थानको राष्ट्र ग्लोबल क्वालिफायरमा छनोट हुनेछ।
लामो समयदेखि नेपालको तगारो बन्दै आएको थाइल्याण्ड यसपटक एसियाको छनोट समूहमा रहेको छैन। जसको कारण नेपाललाई केही सहज हुने देखिएको छ। एसिया छनोटको खेल मलेसियामा सन् २०२१ को सेप्टेम्बर २० देखि २६ सम्म हुनेछ। विश्वकपमा कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। क्षेत्रीय छनोटमा यस नयाँ राष्ट्र सहित १ सय १५ राष्ट्रको सहभागिता रहने आईसीसीले जनाएको छ।


























