बुटवल, मंसिर २७ । बुद्ध जन्मस्थल लुम्बिनी आठ महिनापछि सर्वसाधारणका लागि खुला गरिएको छ। कोरोना महामारीसँगै गत वैशाखदेखि बन्द भएको लुम्बिनी क्षेत्र मंसिर ३ गतेदेखि र मायादेवी मन्दिर मंसिर २१ गतेदेखि खुला गरिएको हो। कोरोनामा महामारीबीच अन्य क्षेत्र खुला भएसँगै लुम्बिनी क्षेत्र पनि खुला गरिएको हो। लुम्बिनी क्षेत्र खुला गरे पनि कोरोना त्रासका कारण पर्यटक आगमन बढ्न नसकेको लुम्बिनी विकास कोषको भनाइ छ।
लुम्बिनीमा कात्तिकदेखि चैतसम्म पर्यटक भित्रिने समय रहेकाले पर्यटक आवागमनलाई मध्यनजर गरी लुम्बिनी खुला गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यले जानकारी दिए। पर्यटक अभावका कारण कोष आर्थिक संकटमा परेको उनले बताए।
जसका कारण लुम्बिनी क्षेत्रमा कार्यरत कर्मचारीहरू पारिश्रमिक दिन नसकेको उनले बताए। लुम्बिनी क्षेत्रमा हाल अस्थायी, स्थायी, ज्यालादारी र करार गरी ६० जना कर्मचारी कार्यरत छन्। कोरोना महामारीसँगै बन्द भएको लुम्बिनी क्षेत्र कर्मचारीलाई पारिश्रमिक दिन नसकिएको उनले बताए।


























