चितवन, मंसिर २२ । अब मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबलकारको टिकट ‘खल्ती’ डिजिटल वालेट एपबाटै खरिद गर्न सक्ने भएका छन्। खल्तीले टिकटको शुल्क भुक्तानी गर्नका लागि मनकामना केबलकारसँग सम्झौता गरेको हो।
यससँगै खल्तीका ग्राहकले खल्ती डटकम वा मोबाइल एपमा रहेको मनकामना केबलकारको मेनुमा ट्याप गरी टिकेटको शुल्क भुक्तानी गर्न सक्नेछन्। यसरी शुःल्क भुक्तानी गरेपछि ग्राहकलाइ मोबाइलमै ई(टिकट प्राप्त हुने कम्पनीले जनाएको छ।
त्यही टिकट देखाएर ग्राहकले केबलकारमा यात्रा गर्न सक्नेछन्। खल्तीबाट टिकट शुःल्क भुक्तानी गर्न सकिने भएपछि ग्राहकहरूलाई लामो लाइन बस्नु पर्ने झन्झटबाट समेत मुक्ति मिल्नेछ।
मनकामना केबलकार हाल कोरोना भाइरसका कारण बन्द अवस्थामा रहेको छ। केबलकार सञ्चालनमा आएपछि यो सेवा सुरू हुने कम्पनीले जनाएको छ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो। जसले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार गर्न सकिने सहज प्रदान गर्दै आएको छ।
खल्ती वालेटको प्रयोग गरी ६० भन्दा धेरै बैंक तथा वित्तीय संस्थामा पैसा पठाउन सकिन्छ। त्यसका साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने सुविधा पनि यसमा छ।
यसैगरी ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता थुप्रै सेवाहरु पनि यसबाट लिन सकिन्छ। साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाएर रकम बचत गर्न पनि सकिन्छ। खल्तीका प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढी रहेको छ।


























