मंसिर २२ । जापान, फ्रान्स र अमेरिकाले जमीन र समुद्रमा पहिलोपटक संयुक्त सैन्य अभ्यास सन् २०२१ को मे महिनामा गर्न लागेको जापानको सानकेई पत्रिकाले आइतवार खबर दिएको छ। प्रशान्त क्षेत्रमा चीनको सैन्य गतिविधि बढिरहेको सन्दर्भमा यो संयुक्त सैन्य अभ्यास हुन लागेको हो।
अभ्यास जापानको मानवरहित एक टापुमा गरिनेछ। यसले मूलतः प्राकृतिक विपतका समयमा राहतका प्रयासहरूमा जोड दिने भए पनि आक्रमणको प्रतिरक्षा पनि यसले समेट्ने पत्रिकाले उल्लेख गरेको छ। जापानको रक्षा मन्त्रालयले यसमा टिप्पणी गरिसकेको छैन। पूर्वी चीन सागरमा जापानले नियन्त्रण गरेका टापुहरूमा चीनलाई काउन्टर दिन संयुक्त अभ्यास गरिएको पत्रिकाले उल्लेख गरेको छ।
‘उक्त क्षेत्रमा हाम्रो उपस्थिति देखाउन तथा जापान र फ्रान्सबीचको सहकार्यका विषयमा सन्देश दिन संयुक्त अभ्यास गर्न लागिएको हो,’ फ्रान्सेली जलसेना प्रमुख एडमिरल पिएर भान्डियरले पत्रिकालाई बताए। ‘यो चीनलाई लक्षित सन्देश हो। यो बहुपक्षीय साझेदारी र आवागमन स्वतन्त्रताको पनि सन्देश हो,’ उनले थपे।
चीनले उक्त क्षेत्रमा आफ्नो उद्देश्य शान्तिपूर्ण रहेको बताएको छ। तर जापानको नियन्त्रणमा रहेको सेन्काकु टापुसमूहमा चीनले दियाओयू भन्दै दाबी गरेकाले जापान चिन्तित छ। एजेन्सी


























