चितवन, मंसिर २० । पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताएका पत्रकार सूर्यप्रकाश कँडेलको मोसो उपन्यास बजारमा आएको छ। युरेका पब्लिकेसनले ‘मोसो’ बजारमा ल्याएको हो। पत्रकार कँडेलको पहिलो साहित्यिक कृति हो ‘मोसो’। चितवनमा रही पत्रकारितामा क्रियाशील कँडेल नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति चितवनका सल्लाहकारसमेत हुन्। विसं २०५५ असोजमा चितवन सन्देश साप्ताहिकबाट पत्रकारिताको यात्रा शुरु गरेका कँडेल गहन समाचार र फिचर लेखनमा दख्खल राख्छन्। हाल उनी नागरिक दैनिकको चितवन संवाददाता र सफल खबर डट कमको समाचार सम्पादकका रुपमा कार्यरत छन्। यसअघि उहाँले १४ वर्षसम्म अन्नपूर्ण पोष्ट दैनिकको चितवन समाचारदाता भई काम गरिसकेकाछन्।
व्यस्त दैनिकीका बीच उपन्यास लेखनका लागि समय मिलाउनु निकै चुनौतीपूर्ण रहेको बताउने कँडेलले पुस्तक लेख्न तीन वर्ष लागेको बताइ। मोसो उपन्यासको कथावस्तु पत्रकारितासँग जोडिएको कँडेलको भनाइ छ।
“उपन्यास आफैँमा एउटा बेग्लै संसार हो। त्यहाँ विभिन्न पात्र, परिवेश, घटना, वेदना, आक्रोश, द्वन्द्व, कौतुहलता हुन्छ। मोसोमा पनि यी सबै कुरा छन्”, पत्रकार कँडेलले भने, “मोसोभित्र एउटा ठूलो सामाजिक सन्देश छ। पत्रकार भन्दैमा सबै दूधले नुहाएका हुँदैनन्, पत्रकारिताको आवरणमा गलत काम पनि हुन्छन्, भएका छन् भन्ने सन्देश ‘मोसो’ बाट पाइन्छ।” दुई सय तीस पेजको सो पुस्तकको मूल्य रु ३८५ रहेको छ। रासस


























