तनहुँ, मंसिर १९ । तनहुँमा मासु उत्पादन बर्सेनि बढ्दै गएको छ। गत आर्थिक वर्षमा चार हजार ५७५ मेट्रिक टन मासु उत्पादन भएकामा यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन भएको छ।
गत वर्षको तुलनामा यस वर्ष ११९ मेट्रिक टन बढी मासु उत्पादन भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ। वार्षिक चार हजार ५२६ दशमलव ३८ मेट्रिक टन आवश्यक पर्ने जिल्ला उत्पादन वृद्धि भएपछि मासुमा आत्मनिर्भर बनेको छ। दूध र अण्डामा आत्मनिर्भर बनेर अन्य जिल्लामा निर्यात गर्न थालेको तनहुँ पछिल्लो समय मासुमा समेत आत्मनिर्भर बनी निर्यातसमेत गर्न थालेको छ। कृषकको आकर्षण माछामासु र पशुपक्षीपालनतर्फ बढेसँगै माछामासुमा जिल्ला सक्षम बन्न सकेको छ।
केही समय पहिलासम्म माग पूरा गर्न नसक्दा व्यवसायीले छिमेकी राष्ट्रबाट खसीबोका ल्याउने गरे पनि अहिले उत्पादन बढेपछि आयात प्रायःशून्य भएको केन्द्रका सूचना अधिकारी डा.शर्मिला कुमालले बताइन्। रासस


























