हुम्ला, मंसिर १८ । हुम्ला विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारी बिहीबार बिहानै अचानक भएको आगलागीबाट धन्नले बाँचेका छन्। हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार नागरिक उडड्यन प्राधिकरण प्रमुख अधिकारी सुतिरहेका बेला आगलागी भएको हो।
विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीले आफ्नो कार्यालयको झ्यालबाट धुवाँको मुस्लो देखेर तुरुन्त सूचना दिएका कारण उनी भाग्न सफल भएको उनले बताए। डीएसपी सुवेदीका अनुसार भाग्ने क्रममा विमानस्थल प्रमुख अधिकारी सामान्य घाइते भएका छन्। यसैगरी आगो निभाउने क्रमममा विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी कार्यालय सहायक गणेश सुयाल पनि सामान्य घाइते भएका छन्।
आगलागी हुनासाथ नजिकैको सुरक्षा पोस्टबाट खटिएका प्रहरीले तत्काल सरसामान निकालेको उनले बताए। विद्युत् सर्ट भएर आगलागी भएको डीएसपी सुवेदीले जानकारी दिए। उनका अनुसार सुरक्षाकर्मीले बेलैमा थाहा पाएका कारण ठूलो क्षति हुनबाट जोगिएको हो।


























