काठमाडौं, मंसिर १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ।
यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ थियो। पछिल्लो २४ घण्टामा थप १ हजार ५६७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १८ हजार १६१ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ रहेको थियो। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ५३८ पुगेको छ।


























