बैतडी, मंसिर १५ । बैतडीको सिगास गाउँपालिका-३ की १८ वर्षीया किशोरी बलात्कार प्रकरणमा वडा अध्यक्षसहित थप चार जना पक्राउ परेका छन्। सिगास गाउँपालिका-३ का वडा अध्यक्ष शेरसिंह साउदसहित थप चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि शनिबार साँझ पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। यससँगै किशोरी बलात्कार प्रकरणमा छ जना पक्राउ परिसकेका छन्।
गत बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रणमा लिएको थियो। ‘उनीहरूमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ’, प्रहरी नायव उपरीक्षक अधिकारीले भने।
बलात्कार घटनाका मुख्य आरोपित सिगास-३ का दीपकसिंह धामी भने फरार रहेको प्रहरीले बताएको छ। उनी भारत गएको हुन सक्ने प्रहरीको आशंका छ। सिगास गाउँपालिका-३ की १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको थियो। गत १४ असारमा गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो। तमसुकमा पीडित पक्षलाई कात्तिक मसान्तभित्र एक तोला सुन दिने भनिएको थियो। पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको हो।
‘बलात्कारका मुख्य आरोपी फरार भएपछि घटनालाई ढाकछोप गर्ने वडा अध्यक्षसहितका व्यक्तिलाई नियन्त्रणमा लिइसकेका छौँ’, प्रहरी नायव निरीक्षक घिमिरेले भने।


























