मंसिर १५ । दक्षिण अफ्रिकाविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिज इंग्ल्यान्डले जितेको छ। पर्लमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगाबै सिरिज जितेको हो। दक्षिण अफ्रिकाले दिएको १ सय ४७ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो।
इंग्ल्यान्डको जितमा डाविड मालनले ५५ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान इयान मोर्गनले अविजित रहदै २६ रन जोड्दा जोश बट्लरले २२ रन बनाए। बेन स्टोक्सले १६ र जासन रोयले १४ रन जोडे। दक्षिण अफ्रिकाका ताब्रेज शामीले ३ तथा लुंगी एनजिडीले २ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो।
दक्षिण अफ्रिकाका लागि कप्तान क्विन्टन डी ककले ३० रन जोड्दा जर्ज लिन्डेले २९ रन बनाए। यस्तै रस्सी भान डेर डुसेनले अविजित २५ रन बनाए।इंग्ल्यान्डका आदील राशिदले २ विकेट लिए। जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ। एजेन्सी


























