मंसिर १३ । साहत्यिकार अमृत शर्मा ढकालको गीतकृति ‘लजालु पहाडहरु’ विमोचन गरिएको छ। नेपालगन्जमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव एवं वरिष्ठ कथाकार सनत रेग्मी, वरिष्ठ सायर अब्दुल लतिफ शौक, प्राज्ञसभा सदस्य हरिप्रसाद तिमिल्सेना, वरिष्ठ लोकगायक कमल विक निर्माेही, साहित्यकार भोजराज शर्मा ‘नादिर’ लगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन्।
करिब २ दशकदेखि गीत, कविता, गजल र समालोचना सृजनामा क्रियाशील ढकालको लजालु पहाडहरु पहिलो पुस्तकाकार कृति हो। पुस्तकमा ६७ वटा गीत संग्रहित छन्।
विमोचन कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार नादिरले ढकालमा गोपाल योन्जन र गुल्जारको जत्तिकै स्तरीय गीतहरु लेख्ने क्षमता रहेको बताए। उनले भने, “जसले जीन्दगीको लक्षित उचाइमा पुगेर पनि विश्रान्ति पाएको छैन, आनन्द पाएको छैन, जसलाई चौतारीमा बिसाएर मस्तसँग हावा चलोस्, पातहरु सुसाएको जस्तो कल्पनाको आनन्द जसले चाहेको छ, उसले यो किताब पढ्नु पर्छ।” उनले कृतिमा रहेका केही गीतहरु ‘प्हिलो’ पढाइमा दुर्बाेध्य जस्तो लागेपनि तिनको वजन थाहा बुझ्नेबित्तिकै फरक खालको अनुभूत हुने दाबी गरे।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कथाकार रेग्मीले ढकालका गीतहरु संरचनाका हिसाबले संगीतकार र गायकहरुलाई चुनौती दिने खालका रहेको बताए । कृतिकार ढकालले गीत आफ्नो प्रिय विधा भएको बताए। उनले साहित्य सृजनाको सुरुवात नै गीत लेखनबाट गरेको जनाए ।
युरेका प्रकाशनले बजारमा ल्याएकाे पुस्तककाे मूल्य २ सय ५० रुपैयाँ तोकिएको छ।

























