काठमाडौं, मंसिर ११ । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा आजदेखि काठमाडौंमा सुरु भएको छ। साधारणसभाको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका हुन्। गत चैतमै हुनुपर्ने साधारण सभा ९नेतृत्व चयनको महाधिवेशन० बिहीबारबाट सुरु भइ ३ दिनसम्म चल्नेछ।
महासंघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन स्थानमा मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ। जसअनुसार प्रज्ञा भवन कमलादी, कार्की ब्यांकेट र उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा मतदान हुनेछ। जिल्ला-नगर, एसोसिएट र वस्तुगततर्फका प्रतिनिधिले छुट्टाछुट्टै स्थानमा मतदान गर्ने भएका हुन्।
यसैगरी, मंसिर १२ गते भर्चुअल रूपमा नै बन्दसत्र संचालन हुने जानकारी महासंघले दिएको छ। १३ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ। कोरोना संक्रमित प्रतिनिधिले पनि मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जानकारी दिएको छ। संक्रमितका लागि प्रज्ञा भवनमा व्यवस्था गरिएको बताइएको छ।
महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल उम्मेदवार छन्। दुवै उम्मेदवार आ–आफ्ना प्यानल लिएर चुनावमा होमिएका छन्।महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि अध्यक्ष हुने व्यवस्था छ। साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघ अध्यक्ष बन्नेछन्।

























