काठमाडौं, मंसिर ११ । प्युठानबाट काठमाडौं आउँदै गरेको जिप आज (बिहीबार) बिहान त्रिशूली नदीमा खस्दा आमाछोरीसहित ३ जना बेपत्ता भएका छन्। लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिनभन्दा करिब २ किलोमिटर वर त्रिशूलीमा खसेको हो।
गाडीका चालक सूर्य केसी, यात्रु प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका र उनकी ११ वर्षीया छोरी नदीमा बेपत्ता भएको जमुनाका भाइ शरद रोकाले जानकारी दिएका छन्। उनका अनुसार जमुनाका श्रीमान मुकुन्दराज रोका भने नदीबाट पौडी खेलेर बाँच्न सफल भएका छन्।
रोका राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन्। छोरीको उपचारका लागि रोका दम्पत्ती बुधबार राति काठमाडौं आउँदै थिए। पत्थरीको अप्रेसन गरेकी ११ वर्षीया बालिकामा इन्फेक्सन भएपछि थप उपचारका लागि उनीहरु काठमाडौं आउँदै थिए।
रोकालाई प्रहरीले उद्धार गरी उपचारका लागि पठाएको छ भने बेपत्ताको खोजी गरिरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
























