मंसिर १० । जर्मन क्लब बोरुसिया डर्टमण्डले यूईएफए च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ। मंगलबार राति भएको खेलमा डर्टमण्डले क्लब ब्रुगलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा एर्लिङ हालाण्डले दुई गोल गरेपछि डर्टमण्डले सहज जित निकालेको हो। खेलको १८ औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा जाडोन सान्चोले गोल गर्दा डर्टमण्ड २-० ले अघि रह्यो।
त्यसपछि खेलको ६० औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ३-० को जित दिलाए। जितसँगै डर्टमण्डले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। समूह एफको डर्टमण्डले ४ खेलमा ९ अंक जोडेको छ। डर्टमण्ड शीर्ष स्थानमा रहेको छ।
क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। यसै समूहको अर्को खेलमा लाजियोले जेनिट सेन्ट पिटर्सबर्गलाई ३-१ ले हराएको छ। एजेन्सी


























