कोभिड-१९ संक्रमणबाट मैले १९औं दिनमा औपचारिक मुक्ति पाएको रिपोर्ट प्राप्त गरें। कोभिड-१९ केही पनि होइन, र कोभिड-१९ संक्रमणले अफ्ठ्यारै पार्छ भन्ने खालको दुई फरक बजार हल्ला सुन्दै आएको थिएँ। तर मलाई चाहि पछिल्लो भनाइ चरितार्थ भयो, अर्थात् ८ दिनसम्म अति नै गाह्रो भयो।
सदाझैँ विद्यालय आउने-जाने अनि एकाध ठाउँमा गएको भन्दा अरु यात्रा विवरण खासै थिएन, तैपनि कातिक १९ गते ज्वरो आउन थाल्यो। मौसमी ज्वरो होला भन्ने ठानेर सिटामोल खाएँ। भोलिपल्ट बिहान फ्रेस महसुस गरेकोले विद्यालय पनि गएँ। तर दिन ढल्दै जाँदा ज्वरो फेरि बढ्न थालेकोले म घर फर्किएँ। बाँकी तीन दिनसम्म सिटामोल खाने, ६ घण्टामात्र ज्वरोबाट मुक्ति पाउने क्रम चलिरह्यो। तर चौथो दिनबाट स्वाद र गन्ध हरायो, खानेकुरा के खाएको खासै स्वाद पाउन छाड्यो। त्यसपछि असाध्यै गाह्रो दिन सुरु भयो। पाँचौ दिन अति मुस्किलले आफैँ साधन चलाएर चितवन मेडिकल कजेलमा स्वाब दिन गएँ। तबसम्म मेरी श्रीमतीलाई पनि ज्वरो आउन थालीसकेको थियो। उनी एउटा कोठामा र म अर्को कोठामा होम आइसोलेशनमा नै बस्यौं। छोरीलाई मेरो अनि ममिको छुट्टाछुट्टै स्याहार गर्नुपर्दा कामको भार थपियो।
भोलिपल्ट साँझ ८ः३० बजे मोबाइलमा कोभिड-१९ पोजिटिभ भन्ने मेसेज आयो, पर्सिपल्ट बिहानै छोरीलाई रिपोर्ट लिन सीएमसी पठाएँ। सीटी भ्यालु इजेन ९.२८ र ओआरएफ ७.७ रहेछ। भाइरल लोड अत्याधिक भएको थाहा पाएँ। बुझ्दै जाँदा सीटी भ्यालु २० भन्दा कम हुँदा अरुलाई संक्रमण सार्ने सम्भावना अधिक हुने रहेछ। घरैमा बस्नु उचित ठानिनँ। अस्पताल जाउँ भने झन् असुरक्षित महसुस हुने, यस मानेमा कि छिटो र सही हेरचाह पाइँदैन कि भन्ने भ्रम र बजार हल्लाले मेरो मनमा राम्रै जरो गाडेको थियो। थप एक दिन के गर्ने भन्ने अन्यौलतामा नै बित्यो।
वागेश्वरी चितवनस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको बारेमा भाइ मनोज बरालबाट जानकारी प्राप्त हुन आयो, त्यहाँको व्यवस्थापन राम्रो छ भन्ने पृष्ठपोषण पाएको थिएँ। यता हामीलाई स्याहार-सुसार गर्न खटिएकी छोरीलाई पनि हलुका ज्वरो आयो भने पछि, तुरुन्त निर्णय लिइहालें। आफ्नो निजी साधनमा ओड्ने ओछ्याउने अनि अन्य केही दैनिक आवश्यकीय सामानहरु राख्यौं, अनि सीएमसी गएर श्रीमतीको समेत स्वाब संकलन गराइयो र सोझै वागेश्वरी प्राकृतिक चिकित्सालयतर्फ लाग्यौं। त्यहाँ पुग्ने वित्तिकै डाक्टरहरु तुरुन्तै फाइल बोकेर आउनुभयो। हाम्रो सबै विवरण लिखितरुपमा लिनुभयो।
डा.हेमराज कोइरालाको नेतृत्वमा रहनुभएका पाँच सदस्यीय चिकित्सकहरु डा.प्रमोद, डा.प्रतीक्षा, डा.विकास अनि डा.सृष्टि साँच्चै नै यस प्राकृतिक चिकित्सालयका लागि अत्यन्तै उपयुक्त पात्रा र वरदान नै रहेको महसुस गरें। २४सै घण्टा बिरामी (वहाँहरुको भाषामा भन्नु पर्दा कोभिड-१९ संक्रमित योग साधकहरु)को हेरचाहमा खटिनुहुने रहेछ। मेरो रिपोर्ट पोजिटिभ भएको हुँदा आइसोलेसन ब्लकभित्र प्रवेश पाएँ, तर श्रीमतीको रिपोर्ट नआएको हुँदा छुट्टै ब्लकमा राखियो। आइसोलेसन ब्लकमा करिब ६० जना जति थियौं। मास्क लगाउन नपाइने नियम रहेछ त्यहाँ, सुनेर अचम्ममा परें।
जंगलको माझमा पर्याप्त अक्सिजन, हरेक दिन बिहानको १ः३० घण्टा लामो योग अभ्यास, बिरामीको अवस्था अनुसारको खानेकुरा, चिकित्सकहरुको बिरामीलाई हुने व्यक्तिगत निगरानी, ब्याडमिन्टन खेल, र खुला ठाउँमा बिहानैबाट घाम ताप्ने अनि हिँड्ने पर्यात स्थान, र बिरामी साधाकहरु बीच हुने भलाकुसारी नै यस प्राकृतिक चिकित्सालयको कोभिड-१९ लाई सहजै र छिट्टै परास्त गर्ने सशक्त अस्त्रहरु हुन् जस्तो लाग्छ मलाई।
भरतपुर महानगरपालिकाद्वारा सञ्चालित यस कार्यक्रम साच्चै नै अति प्रभावकारी छ। खाना र बस्नलाई वडाको सिफारिस ल्याएपछि नि:शुल्क रहेछ। यहाँ बस्दा थप पाँच दिन मलाई ज्वरोले छाडेन, असाध्यै गलायो, करङको भागमा अति दुख्ने, सुत्न नसकिने, सास नै छिनेर लैजान्छ कि जस्तो हुने। मोबाइल साइलेन्टमा राखेको थिएँ, इष्टमित्र साथीहरुको फोनकल अधिक आइरहेको थियो, उठाएर कुरा गर्ने अवस्था थिएन, यसका लागि सबै इष्ट मित्र साथीहरुमा क्षमा प्रार्थी छु। यहाँहरुको हरेक कलले मलाई यस जटिल घडीमा हौसला अनि उर्जा मिली रहेको थियो। माइलो भाइ, बुद्धि, ब्रुनाईबाट ठूली छोरी अस्मिता अनि ज्वाइँ, हेटौँडाबाट माइली छोरी रुविना अनि ज्वाइँ, घरबाट कान्छी छोरी प्रविना र छोराको बारम्बार आइरहने भिडियो कल र ढाडस साँच्चै अदभूत औषधिको काम गरी रहेको थियो यतिबेला। हामीले घर छाडेको भोलिपल्ट घरमा छोरी र छोरालाई पनि हलुका ज्वरो आएको थियो एक/एक डोज सिटामोलले उनीहरुले स्वास्थ्यलाभ गरे। कोभिड-१९ को रिपार्ट नेगेटिभ आए पनि तिहारको दिन श्रीमतीलाई अलि बढी नै गाह्रो भयो।
भोलिपल्ट डा.प्रमोदले ल्याबबाट एकजना ल्याब कर्मचारी बाेलाइदिनुभयो र उनको रगत, दिसा, पिसाबको नमुना लिएर परीक्षण भयो। हेमोग्लोविन ७ं.२, रगतमा केही संक्रमण र निमोनियाको लक्षण देखिएपछि माइलो भाइलाई बोलाएर उनलाई सीएमसी लगियो, अर्को तनाव सुरु। सोहीदिन राति रगत चढाउनुपर्ने भयो। दाज्यु नरेन्द्र के.सी.लाई धेरै-धेरै धन्यवाद ! शीघ्र रगतको व्यवस्थापन र अन्य कुरामा सहयोग गरिदिनुभएकोमा। पुनः परीक्षण गरी कोभिड-१९ नेगेटिभ प्रमाणित भएर उनलाई भोलिपल्ट ननकोभिड वार्डमा राखी निमोनियाको उपचार सुरु भयो। क्रमशः सुधार हुँदै गएको खबर पाइरहेँ। सीएमसीमा साँच्चै राम्रो उपचार दिने रहेछ, मेरो मनमा रहेको गलत भ्रम हट्यो। १२ दिनपछि मंसिर १ गतेबाट बल्लबल्ल ज्वरोबाट मुक्ति पाइयो, शरीर फ्रेस हुँदै आयो। योगा र त्यहाँको वातावरणले होला ज्वरो आउन छाडेको चार दिनमा नै असाध्यै स्वस्थ महसुस गरें।
मंसिर ५ गते अर्थात् ज्वरोको सुरुवात भएको १७औं दिन पुनः स्वाब दिइयो। मंसिर ७ गते बेलुका ५ बजेतिर रिपोर्ट मेसेज आयो मोबाइलमा नेगेटिभ भनेर। त्यति बेला संसार नै जिते जस्तो भान भयो। श्रीमती पनि मंसिर ७ गते राति अस्पतालबाट डिस्चार्ज भइन्, धेरै सुधार भएको छ, निमोनियाबाट पूर्णरुपमा मुक्ति पाउन उनलाई अझै केही दिन लाग्ने डाक्टरको भनाइ छ, हाल घरैमा औषधि सेवन गरी स्वास्थ्यलाभ लिइरहेकी छिन्। एउटा अति नमिठो कालखण्ड गुजारेर मंसिर ७ गते राति सबैजना पुनः आफ्नै वासस्थानमा फर्किएका छौं। यसबीचमा हाम्रो लागि स्वास्थ्यलाभको कामना गर्नुहुने सबै इष्टमित्र, साथी, शुभचिन्तकहरुमा हार्दिक नमन। अनि आभार व्यक्त गर्न चाहन्छु।
भरतपुर महानगरपालिकाद्वारा सञ्चालित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय (कोभिड-१९ आइसोलेशन केन्द्र) वागेश्वरीमा रहँदा सहयोग पुर्याउनु हुने पाँचैजना मेहनती र कर्तव्यपरायण चिकित्सकहरु, प्रशासकीय अधिकृत मित्र कमल पाण्डे, भान्सा र अन्य व्यवस्थापनका टीम, सुरक्षाकर्मीहरु, सामानहरु ल्याउन सहयोग पुर्याउने सीता बहिनी, आइसोलेशनभित्र सँगै बसी बसाइलाई सरल र सहज बनाउने सबै साथीहरुलाई हार्दिक नमनका साथ पुनः स्मरण गर्न चाहन्छु। धन्यवाद !
(लेखक भरतपुर महानगरपालिका-२१ पार्वतीपुरस्थित अन्नपूर्ण माविका प्रधानाध्यापक हुन्)

























