डडेल्धुरा, मंसिर ८ । आन्तरिक राजस्व कार्यालय डडेल्धुराले कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाह गर्ने भएको छ। लामो समयदेखि कर विवरण नबुझाएका व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने कार्यालयले जनाएको छ।
कार्यालयले सूचना जारी गर्दै विक्रम संवत् २०७५ असार मसान्तसम्म भ्याट विवरण पेश नगर्ने करदातालाई यस वर्षको फागुनसम्मको समय तोकेको छ। विक्रम संवत् २०७७ फागुन मसान्तभित्र कर विवरण बुझाएमा तिर्नुपर्ने जरिवाना, थप दस्तुर र ५ प्रतिशत ब्याज समेत नतिर्नुपर्ने सूचनामा उल्लेख छ।
आगामी फागुन मसान्तसम्म मात्र योजना रहेको र यसको लाभ उठाउन व्यवसायीलाई आह्वान गरिएको छ। कार्यालयले कर नबुझाउने ७४ जना व्यवसायीको सूची सार्वजनिक गरेको छ। सूचीमा अमरगढी नगरपालिका प्रमुख लगायत विभिन्न व्यक्ति रहेका जनाइएको छ। रासस
Facebook Comments


























