चितवन ७ मंसिर । भरतपुर १ वागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा स्वास्थ्यलाभ गरिरहेका कोरोना संक्रमितहरुलाई नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले न्यानो कपडा सहयोग गरेको छ। आइसोलेसन सेन्टरमै पुगेका नेपाल रेडक्रस चितवन शाखाका सभापति ज्ञानसाली न्यौपानेसहितको टोलीले हाललाई २५ थान कम्बल र १० थान त्रिपाल सहयोग गरेको हो। चिकित्सालयका अध्यक्ष कमल मल्ल र आइसोलेसन केन्द्र संयोजक ऋषिराज पाण्डेलाई संयुक्तरुपमा उक्त सामग्री हस्तान्तरण गरेका हुन्। रेडक्रसले थप सहयोगका लागि केन्द्रसँग छलफल भइरहेको चितवन शाखाका सभापति न्यौपानेले बताए।
भरतपुर महानगरपालिका विपद् व्यवस्थापन फोकल पर्सन जीवलाल कुँवरले महानगरले स्थापना गरेको आइसोलेसन केन्द्र सञ्चालनमा चिकित्सालयको अतुलनीय योगदान रहेको भन्दै सहयोगी हातहरुप्रति आभार प्रकट गरे। प्राप्त सहयोगहरुले केन्द्रको व्यवस्थापन तथा सञ्चालनमा निकै सहयोग पुगेको र महानगरलाई राहत मिलेको उनको भनाइ छ।

यसअघि पनि आइसोलेसन केन्द्रमा राष्ट्रिय आविष्कार केन्द्रकामार्फत महावीर पुनबाट २ थान सीप्याप मेसिन, लण्डनमा बस्ने नेपालीहरुबाट संकलित रकमबाट अक्सिजन दिने मेसिन, गृह मन्त्रालयबाट २२ लाख मूल्य बराबरको एउटा ठूलो टेन्ट, रोटरी क्लबबाट गिजर, खेल सामग्री, हेलोजन बत्तीलगायतका सामग्री सहयोग प्राप्त भएको डा कोइरालाले बताए। यसैगरी लायन्स क्लब र केदार श्रेष्ठबाट ३०÷३० थान कुर्सी, नारायणगढस्थित लोकमान प्लाजाका सञ्चालक ज्ञानेन्द्रमान शाक्यबाट योगा स्टेज, डिस्प्ले बोर्ड, उपचारपश्चात् निको भई घर गएका मनोज बरनवालबाट ५ थान कुर्सी सहयोग प्राप्त भएको छ।
गत भदौ १४ गतेबाट उक्त आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो। केन्द्रमा ३६६ जना कोरोना संक्रमित भर्ना हुँदा ३४६ जना निको भएर घर फर्किसकेका चिकित्सालयका निर्देशक डाक्टर हेमराज कोइरालाले जानकारी दिए। आइसोलेसन सञ्चालनका लागि वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्र पिया, निर्देशक डा हेमराज कोइराला, भरतपुर महानगरपालिका र प्रदेश सरकारले विशेष भूमिका खेलेको छ।


























