मंसिर ५ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको दसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष विवेक दुगडको सभापतित्वमा सभा सम्पन्न भएको हो।
साधारणसभाले लेखा परिक्षकको प्रतिवेदनसहित २०७५ साल असार मसान्तसम्मको वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूची सर्वसम्मतिबाट पारित गरेको छ। विशेष प्रस्ताव अन्तर्गत आव २०७४/७५ को मुनाफाबाट जारी पुँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजारको ५।२५ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ।
साथै १० औं वार्षिक साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक सेयरधनीको तर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछकुमार यादव, शम्भु प्रसाद सुवेदी, विनय कुमार तोदी तथा सर्वसाधारण सेयरधनीको तर्फबाट विशाल तातेड निर्विरोध निर्वाचित भएका छन्।
नव निर्वाचित सञ्चालक समितिको आजै बसेको १६२ औं बैठकले विवेक दुगडलाई सर्वसम्मतिबाट सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ।


























