चितवन, मंसिर ५ । इच्छाकामना गाउँपालिका–३ को वडा कार्यालय मतदान गरी टुङ्गो लगाइएको छ। विशेष गाउँसभाले बिहीबार वडा कार्यालयको टुङ्गो लगाएको हो। गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत सुकदेव लम्सालका अनुसार वडा कार्यालय फिस्लिङ र चुम्लिङटार कहाँ राख्ने भन्ने विषयमा विवाद रहेको थियो। विशेष गाउँसभामा गरिएको मतदानमा चुम्लिङटारको पक्षमा १८ मत र फिस्लिङका पक्षमा १५ मत परेको थियो। यससँगै वडा कार्यालय चुम्लिङटारमा रहने भएको छ।
लम्सालका अनुसार सभामा हाल ३५ सदस्य कायम छन्। गाउँपालिकामा सात वडा छन्। यसअघिका गाउँसभामा बहुमत सदस्य नपुगेपछि वडा कार्यालय तय हुनसकेको थिएन। गत साउनमा फिस्लिङमा अस्थायी कार्यालय राखेपछि चुम्लिङटारका बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका थिए। एक महिनाभित्र विशेष सभामार्फत टुङ्गो लगाउने सहमतिमा ताला खोलिएको थियो।
सभाले स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन विधयेकसमेत पारित गरेको उनले जानकारी दिए। जिल्लामा रहेका सात स्थानीय तहमध्ये इच्छाकामना एक मात्रै गाउँपालिका हो। रासस


























