काठमाडौं, मंसिर ४ । प्रहरीले विभिन्न स्थानबाट फरक-फरक अपराधमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका(१४ नैकाप डेरा गरी बस्ने दोलखा भीमेश्वर नगरपालिका-१३ भएका ३८ वर्षीय वीरबहादुर मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
मगरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यस्तै, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा सिरहा, कल्याणपुर नगरपालिका-४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
ती महिलालाई सोही नगरपालिका-४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो। हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यस्तै, स्याङजा, पुतलीबजार नगरपालिका-१३ बिसौना बस्ने २५ वर्षीय ख्यामबहादुर विकलगायत ४ जनालाई करिब २ किलो अवैध लागूऔषध गाँजासहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ। बिकको घरमा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उक्त गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।
यस्तै, बाँके, नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागुऔषध २ सय ४० ट्याब्लेट नाइट्रोभ्याटसहित सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय जमुनाह बाँकेबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।


























