धादिङ, मंसिर २ । धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन्। वैदेशिक रोजगारीबाट फर्केर गाउँमै किबी खेती शुरु गरेका उनी आफूसँग काम गर्ने आँट र जाँगर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बन्न सफल भएका छन्। अर्काको देशमा जति काम गर्दा पनि आफ्नै गाउँघरको यादले नछाडेपछि उनी विदेशको जागिर छाडेर गाउँ फर्किएका थिए। विदेशमा गरेको कामले सन्तुष्टि नपाएका अधिकारी पाँच वर्षअघिदेखि नीलकण्ठ नगरपालिका–१४ काउलेमा किबी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन्।
तिहारको समयमा मानिसलाई विदेशबाट ल्याएको मसलाको सट्टा गाउँकै पौष्टिक फल किबी हालेर दाजुभाइलाई कोसेली दिन आग्रह गरे अधिकारीको अहिले अधिकांश समय किबीबारीमा बित्ने गरेको छ। विसं २०५८ मा मलेसिया गएका अधिकारी चार वर्ष बसेर नेपाल फर्किएका हुन्। घरमा कपडापसल समेत छ तर व्यवसायभन्दा पनि खेतीमा रमाउन चाहने अधिकारी अहिले जिल्लाका चर्र्चित किबी किसानका रुपमा चिनिएका छन्।
घर फर्किएपछि आफ्नै गाउँठाउँमा केही गरेर आयआर्जन गर्नुपर्छ भन्ने आत्मविश्वासका साथ उनले शुरु गरेको किबीखेती अहिले नमूना कृषि व्यवसायका रुपमा चिनिन थालेको छ। व्यावसायिक रुपमा शुरु गरिइएको किबीखेतीले अधिकारीलाई अहिले धेरैले चिन्न थालेका छन्।
पाँच वर्षअघि तीन सय बोटबाट शुरु गरेको किबी खेतीले अहिले राम्रो उत्पादन दिन थालेको उनको भनाइ छ। यो वर्ष एक हजार ५०० केजी किबी बिक्री गर्ने योजना रहेको अधिकारीले बताए। बाँझो जमिनको सदुपयोग गरी शुरु गरिएको किबी शुद्ध अर्गानिक रहेको उनको भनाइ छ। नीलकण्ठ नगरपालिकाको माथिल्लो भागका साथै जिल्लाका अन्य गाउँबस्तीमा पनि व्यावसायिक रुपमा किबी खेती गर्न सकिने अधिकारीले बताए।
समुद्री सतहबाट एक हजार मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ। फलफूलमध्ये सबैभन्दा धेरै पौष्टिकतत्व भएको फलको रुपमा किबी रहेको छ। किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ। एउटै रुखमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ भने प्रतिकिलो रु ४०० देखि रु ६०० सम्ममा सजिलैसँग बिक्री हुने गरेको किसानको भनाइ छ।
धादिङ जिल्लामा सोयु, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातको किबी खेती गर्ने गरिन्छ। व्यावसायिक रुपमा खेतीको शुरुआत गरिएपनि जिल्लामा विशेषज्ञ सेवा नपाउँदा रोग निवारणमा समस्या हुने गरेको अधिकारीको भनाइ छ। स्थानीय सरकारले आफूसँग किबी खेतीसम्बन्धी प्राविधिक नभएको जनाएको छ। कृषि ज्ञान केन्द्रले प्राविधिक सेवा दिने भने पनि कुनै पनि कर्मचारी र प्राविधिकलाई यस क्षेत्रमा परिचालन गर्न नसकिएको किसानको गुनासो छ। रासस


























