काठमाडौं, मंसिर १ । नेपाली राष्ट्रिय फुटबल टिमले भोलि (मंगलबार) बंगलादेशविरुद्ध दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह पौने ५ बजे सुरु हुनेछ। मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ। पहिलो खेलमा पराजित नेपाल दोस्रो खेल जित्दै मैत्रीपूर्णको सुखद अन्त्य गर्न चाहन्छ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो। नेपाल त्यस हारको बदला समेत लिन चाहन्छ। बंगलादेशविरुद्धको दोस्रो खेलमा रजिन धिमाल मैदान फर्कने छन्। कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए। धिमाल कोरोना मुक्त भईसकेका छन्।
यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ। यस्तै बंगलादेश जित निकाल्दै ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ को ट्रफी घरमै राख्न चाहन्छ। नेपालविरुद्धको दोस्रो खेलमा मुख्य प्रशिक्षक जेमी डे उपस्थित हुने छैनन्। कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा रहेका छन्। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ। अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ। नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ।
दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतविरुद्धको होम गेम भुटानमा खेलेको थियो। छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो। यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो। अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो।
समूह ‘बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ। चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ। यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ।


























