काठमाडौँ, मंसिर १ । काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर भोलि पनि खुला गरिने भएको छ। पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएसँगै आज र भोलिका लागि खुला गर्न लागिएको हो।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्ने गरेकोमा यो वर्ष कतिपय नेवार समुदायले भोलि पनि टीका लगाउने भएकाले मन्दिर मंगलबार पनि खुलाउन लागिएको हो। मंगलबार पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही व्यक्तिले भाइटीका लगाउँदै छन्।मङ्गलबार पनि किजापूजाका लागि सरकारले सार्वजनिक बिदा दिएको छ। दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।
यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् डा.गोविन्द टण्डनले जानकारी दिए।
‘विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ’, उनले भने।
विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो। तीन वर्षअघिको गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ।


























