उदयपुर, कार्तिक ३० । उदयपुर प्रहरीले नौ जना जुवाडेलाई पक्राउ गरेको छ। जुवा खेलिरहेका उनीहरूलाई त्रियुगा नगरपालिका १० करमगाछीबाट आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-१० का ४९ वर्षीय प्रेम भट्टराई, त्रियुगा नगरपालिका-११ गाईघाट बजारका ४० वर्षीय मन्दीप राई, ४० वर्षीय राजनकुमार राउत, त्रियुगा नगरपालिका-१० का २० वर्षीय ईश्वर खड्का, त्रियुगा नगरपालिका-१२ गाईघाट बजारका ४५ वर्षीय बलबहादुर कार्की रहेका छन्।
यस्तै त्रियुगा नगरपालिका-१ का ४० वर्षीय नवीन राई, त्रियुगा नगरपालिका-८ का ४२ वर्षीय पुरुषोत्तम कार्की, त्रियुगा नगरपालिका-११ का ४१ वर्षीय मेखबहादुर राई र त्रियुगा नगरपालिका-३ का २९ वर्षीय सुनिल चौधरी पनि पक्राउ परेका छन्। उनीहरूलाई त्रियुगा नगरपालिका-१० करमगाछिस्थित प्रेम भट्टराईको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूको साथबाट एक बुङ तास, १७ थान मोबाइल, १९ वटा कौडा, छ थान मोटरसाइकलको चाबी, दुई थान सुनको सिक्री र तिन थान सुनको औँठी फेला परेको छ। यसै गरी कृषि विकास बैङ्कको १ लाखको चेक, नबिल बैङ्कको २ लाख दश हजारको चेक र नगद २ लाख ४७ हजार १ सय १७ रुपैयाँ फेला परेको छ।


























