चितवन, कार्तिक ३० । रेडियो चितवन ९४.६ मेघाहर्जका कार्यकारी अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै, नेपाल संवत्लाई नेपालको मौलिक संवत्का रूपमा हरेक नेपालीहरुले आत्मसात् गर्न थालेको बताएका छन्। नेपाल संवत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै श्रेष्ठले नेपाल फरकफरक धार्मिक तथा सांस्कृतिक विशेषता भएको देश भए पनि धार्मिक, सांस्कृतिक तथा जातीय एकतामा मजबुत रहेको उल्लेख गरेका छन्।
“नेपालको मौलिक नेपाल संवत् ११४१ को पावन अवसरमा प्रदेशवासी दिदीबहिनी, दाजुभाइ, रेडियोका स्रोता, विज्ञापनदाता, कर्मचारी तथा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, कार्यकारी अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
श्रेष्ठले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले तत्कालीन समयमा ऋणको भारले थिचिएका र साहुकैमा दासको जीवन बिताउन बाध्य व्यक्तिको ऋण चुक्ता गरिदिएको दिनका स्मृतिमा नेपाल संवत् प्रचलनमा आएको उल्लेख गर्दै यो दिनलाई विशेषतः नेवारी समुदायले धुमधामसँग मनाउने गरेको तथा हाल हरेक नेपालीले मौलिक नेपाली संवत्का रूपमा आत्मसात गरेको बताएका छन्।
यो नयाँ वर्षको अवसरमा नेपालीहरुबीचको एकता थप मजबुत बनोस् भन्ने कामना व्यक्त गर्दछु, न्हुदया भिन्तुनाः”, श्रेष्ठले सन्देशमार्फत भनेका छन्।


























