काठमाडौं, कार्तिक २७ । आम लगानीकर्ताका लागि मनोवैज्ञिानिक हिसाबले महत्वपूर्ण हुने विन्दुहरु नेप्सेले क्रमशः पार गर्दैअघि बढ्न थालेको छ। नेप्से सूचक तथा अन्य उपसूचकहरुले पनि धमाधम नयाँ उचाईहरु बनाइरहेका छन्। जीवन बिमा उप समूहको सूचक १० हजार विन्दुमाथि पुगिसकेको छ। अन्य कतिपय समूह र कम्पनीहरुको भाउमा पनि नयाँ रेकर्डहरु बन्न थालेका छन्। समग्र पुँजी बजारमा उत्साह बढ्दै जाँदा समूहगत र कम्पनीगत आधारमा नयाँ कीर्तिमानहरु बन्न थालेका हुन्।
खरिदबिक्री रकममा थप तेजी देखिएको छ। बिहीबार अघिल्लो दिनको भन्दा अझै बढी रकमको सेयर कारोबार भएको छ। खरिदबिक्री रकम ४ अर्ब ८२ करोड भन्दा बढी पुगेको छ। नेप्से सूचक बुधबार सजिलै १७ सय अंकमाथि उक्लिएपछि बजारमा थप नयाँ रौनकता छाएको हो। बिहीबार पनि सूचक दोहोरो अंकले वृद्धि भएर १७ सय विन्दुभन्दा माथि नै अडिएको छ।
बीचमा विस्तारै केही करेक्सन भए पनि बजारले अब सजिलै पुरानो उच्चतम रेकर्ड १८८१ लाई क्रस गर्ने लगानीकर्ताहरुले विश्वास गरिरहेका छन्। किन भने यतिबेला सेयर बजारका लागि हरेक हिसाबले उपयुक्त समय देखिएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता छ। ब्याजदर घटेको छ। बैंकहरुले बोलाइबोलाई सेयर कर्जा दिइरहेका छन्। सेयर धितो राखेर ७० प्रतिशत सम्म कर्जा पाइन्छ। सर्वसाधारण लगानीकर्ता पनि निकै उत्साहित भइरहेका छन्।
सरकार तथा नियामकले पनि सुधारका लागि कामहरु गरिरहेका छन्। यी सबै परिदृश्यहरुले सेयर बजारको आगामी गति सकारात्मक हुने देखिएको हो। तथापि, बजारले विश्राम लिंदै आफ्नो गति तय गर्नेछ। सधैं एकोहोरो बढिरहन्छ भन्ने हुँदैन। तलमाथि गर्दै अघि बढ्ने यसको विशेषता रहेको हुन्छ। लगानीकर्ताले सबल अवस्था भएका, लाभांश क्षमता उच्च रहेका कम्पनीहरुमा लगानी गर्नुपर्छ। सकेसम्म लामो समय होल्ड गर्ने हिसाबले सेयर खरिद गरेमा दैनिक हुने उतारचढावबाट खासै चिन्ता लिनु नपर्ने हुन्छ।
नेप्से सूचक १०.८२ अंकले बढेर १७१८.५० विन्दुमा आइपुगेको छ। १९८ कम्पनीको ४ अर्ब ८२ करोड भन्दा बढीको कारोबार भएको छ। १ करोड ३८ लाखकित्ता भन्दा बढी सेयर कारोबार भएको छ। कुल १२ समूहमध्ये ५ को सूचक हरियो भएको छ भने बाँकी समूह तल झरेका छन्। सबैभन्दा धेरै व्यापारिक समूहको सूचक १६४.७१ अंकलले वृद्धि भएको छ। वाणिज्य बैंक समूहको सूचक पनि १०.२१ विन्दूले माथि लागेको छ।
विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीको भाउ सर्किट लाग्ने गरी बढेको छ। सबैभन्दा बढी गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले ५.२३ प्रतिशत ले गुमाएका छन्। खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनीले अग्रता लिएको छ। यसको २८ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। दोस्रोमा नेपाल टेलिकम र तेस्रोमा प्रभु बैंक परेको छ।


























