काठमाडौं, कार्तिक २७ । एसियन फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरणका बाँकी खेलको समय तालिका सार्वजनिक गरेको छ। मलेसियाको क्वालालम्पुरमा बसेको एएफसीको भर्चुअल बैठकले बाँकी खेल जुन १५ सम्ममा सक्ने निर्णय गरेको हो।
अक्टोबर र नोभेम्बरमा सञ्चालन गर्ने भनिएका छनोट खेल कोरोना भाइरस महामारीले गर्दा स्थगित गरिएको थियो। छनोट खेल अन्तर्गत अब बाँकी म्याच डे ७ र ८ का खेल मार्च तथा म्याच डे ९ र १० का खेल जुनमा हुनेछन्।
फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेल नेपालले घरेलु मैदानमा अब अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्नेछ। सबै अवे खेल खेलिसकेको नेपालले एक होम म्याच तटस्थ भूमिका रुपमा भुटानमा खेलिसकेको छ। समूह बीमा रहेको नेपालले ५ खेलबाट ३ अंक जोडेको छ। विश्वकप छनोटको तयारीमा रहेको राष्ट्रिय टोली अहिले मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा छ। एजेनसी


























