कार्तिक २२ । ऐतिहासिक नकारात्मक मूल्यलाई छोएर उकालो लागेको तेलको मूल्यमा फेरि गिरावट सुरु भएको छ। युरोपेली देशहरुमा घोषणा गरिएको राष्ट्रव्यापी लकडाउन तथा अमेरिकी चुनावका कारण पछिल्लो समय तेलको मूल्य फेरि घट्न थालेको हो।
कच्चा तेलको मूल्य शुक्रबार अमेरिकी (डब्लुटीआई) बजारमा २.७ प्रतिशत र युरोपेली (ब्रेन्ट) बजारमा २.६ प्रतिशतले गिरावट आएर क्रमशः ३७.३७ र ३९.८८ अमेरिकी डलरमा झरेको थियो। शनिबार पनि मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ।
त्यसो त, लकडाउन वा चुनावले पारेको डिमान्ड साइड इफेक्टका कारण मात्रै मूल्यमा यो गिरावट आएको होइन। रसिया लगायत अन्य तेल उत्पादक राष्ट्रले विश्व बजारको मागमा आएको गिरावट बमोजिम तत्कालै तेलको उत्पादनमा कटौती गर्ने संकेत नदेखाएका कारणले पनि तेलको मूल्य घटेको हो।
युरोपमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। इटालीमा एकैदिन १ लाख २० हजार भन्दा बढी संक्रमित देखिएर ऐतिहासिक राष्ट्रिय रेकर्ड बनाएको छ। यस्तै अवस्था अरु देशमा पनि छ। सोही कारण युरोपेली युनियनको एक्जुकेटिभ कमिसनले आफ्नो आर्थिक प्रक्षेपणलाई कटौती गरेर सन् २०२३ सम्म अर्थतन्त्र पहिलेको अवस्थामा नफर्कने जनाएको छ। युरोपेली क्षेत्रको लकडाउनका कारण आगामी जनवरीसम्म यो क्षेत्रमा प्रतिदिन २० लाख ब्यारेल तेलको माग कम हुने प्रक्षेपण गरिएको छ। एजेन्सी


























