कार्तिक २० । यूएईमा जारी १३औँ संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ। जारी आईपीएलको क्वालिफायर–१ को खेल नेपाली समयानुसार बेलुकी पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। साविक विजेता मुम्बई अंक तालिकाको शीर्षस्थान रहँदै क्वालिफायरमा पुगेको हो। उसले कूल १८ अंक जोडेको छ। लिगका १४ मध्ये पाँच खेलमा मात्रै पराजय बेहोरेको मुम्बई उत्कृष्ट लयमा छ।
१६ अंक जोडेको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा छ। ८ खेलमा जित र ६ खेल हारेको दिल्ली समूह चरणको अन्तिम खेलमा बैंगलोरलाई हराउँदै क्वालिफायरमा पुगेको हो। समूह चरणको दुवै खेलमा मुम्बईले दिल्लीलाई स्तब्ध पारेको थियो। पहिलो म्याचमा १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले दिल्लीलाई पाँच विकेटले पराजित गरेको थियो। दोस्रो म्याचमा दिल्लीलाई नौ विकेटले हराएकाले मुम्बई नै खेल हाबी हुने विश्लेषण गरिएको छ।
विजयी टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वालिफायर–२ मा इलिमिनिटर विजेतासँग खेल्नेछ। इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालामा रोयल च्यालेन्जर्स बैंगलौर र सनराइजर्स हैदरावाबीच हुँदैछ। अबुधाबीमा आइतबार हुने क्वालिफायर–२ मा जित निकाल्ने टिम र क्वालिफायर–१ विजेताबीच उपाधिका लागि आगामी सोमबार दुबईमा प्रतिस्पर्धा हुनेछ। एजेन्सी


























