कार्तिक १९ । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जर्मन क्लब आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्दैछ। पीएसजीले समूह चरणको तेस्रो खेलमा जर्मन क्लबसँग उसैको मैदानमा खेल्नेछ। पीएसजी र लाइपजिगबीचको खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ।
जर्मन क्लबविरुद्ध मैदान उत्रदा पीएसजी दोस्रो जितको खोजीमा हुनेछ। तर, पीएसजीलाई जर्मन क्लबविरुद्ध जित निकाल्न सहज भने छैन। पीएसजी दुई मुख्य स्ट्राइकर नेयमार र केलियन एमबाप्पे बिना मैदान उत्रने छ। चोटका कारण दुबै खेलाडीले लाइपजिगसँगको खेल गुमाउने भएका हुन्। यस समूहमा २ खेलमा ३ अंक जोडेको पीएसजी दोस्रो स्थानमा रहेको छ। पीएसजीले पहिलो खेलमा म्यानचेस्टर युनाईटेडसँग पराजित भएको थियो। तर, दोस्रो खेलमा टर्किस क्लब इस्तानबुल बासाकसेरलाई हराएको थियो।
लाइपजिग पनि पीएसजीलाई हराएर दोस्रो जित निकाल्न चाहन्छ। लाइपजिग ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। लाइपजिगले पहिलो खेलमा इस्तानबुललाई हराएको थियो। दोस्रो खेलमा भने लाइपजिग युनाईटेडसँग पराजित भएको थियो। यसै समूहको अर्को खेलमा युनाईटेडले इस्तानबुलसँग खेल्नेछ।
टर्किस क्लबविरुद्ध मैदान उत्रदा युनाईटेड लगातार तेस्रो जितको खोजीमा हुनेछ। २ खेलमा ६ अंक जोडेको युनाईटेड तालिकाको शीर्ष स्थानमा रहेको छ।इस्तानबुल भने अंक विहीन रहदै पुछारमा रहेको छ। एजेन्सी


























